वरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । आज दिउसो साढे तिन बजे तीर निदान हस्पिटलमा ५४ वर्षीय रानाको निधन भएको हो । पछिल्लो समय फिल्म ‘प्रतिबिम्ब’ निर्माणको क्रममा निर्देशक रानामा स्वास्थ्य समस्या देखा परेको थियो । मृगौलामा समस्या देखापछि उनले भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस गरेका थिए । त्यसपछि फेरि निमोनियाले ग्रसित भएपछि उनको दुबै मृगौलामा खराबी आएको थियो । विगत ६ वर्षदेखि उनले नियमित डाइलिसिस गर्दै आएका थिए ।

बलिउडमा करीब १५ वर्ष विताएका उनले नेपाली फिल्ममा पहिलो पटक विएस थापाको फिल्म ‘कान्छी’ मा सहायक निर्देशकको रुपमा काम गरेका थिए । त्यसपछि ‘राँको’ बाट निर्देशकको रुपमा डेब्यू गरेका थिए । उनकी श्रीमती गायिका संगीता राना प्रधान हुन् । २०१२ साल माघ ७ गते सुनसरीमा जन्मिएका निर्देशक रानाको पूर्खौली घर गुल्मी हो ।

कर्जा, राँको, करोडपती, घामछायाँ ,सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, बन्धकी, शिवशक्ती, मिस्टर मंगले, कारबाहीलगायतका फिल्म निर्देशन गरेका राना ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०७४’ बाट सम्मानित समेत भएका थिए । उनको छोरा ब्याङ्गलौरमा रहेकाले उनको अन्तेष्टी विहिबार अबेर वा शुक्रबार मात्र हुने बुझिएको छ ।