नेपाल पर्यटक यातायात व्यावसायी संघ (एनटिभिए) को अध्यक्षमा रामहरी शर्मा निर्विरोध चयन भएका छन् ।

संघको ८ औँ अधिवेशनले आइतवार शर्मालाई निर्विरोध अध्यक्ष चयन गरेको हो । नवनिर्वाचित शर्मा संघका संस्थापक अध्यक्ष समेत हुन् ।

शर्माको नेतृत्वको प्रथम उपाध्यक्षमा भिमवहादुर घोले, द्वितीय उपाध्यक्षमा शेशन घिमिरे, महासचिवमा कुलप्रसाद न्यौपाने (सन्तोष), सचिवमा अनिल मोक्तान, कोषाध्यक्षमा शेखर नारायण महर्जन (अञ्जन) सदस्यहरुमा रविन कुमार श्रेष्ठ, केदार नाथ कट्टेल र लोकराज खरेल निर्वाचित भएका छन् । ८ जना निर्वाचित कार्यसमितिमा सचिव बाहेक सबै पद निर्विरोध भएको थियो ।

सचिवका लागि अनिल मोक्तान र प्रतिकार कार्कीको उम्मेदारी परेको थियो । आईतबार भएको मतदानमा मोक्तानको पक्षमा ४३ मत र कार्कीको पक्षमा तीन मत खसेको थियो । संघमा रहेका ७२ सदस्यहरुमा ४८ सदस्यमात्रै निर्वाचनमा सहभागी भएका थिए । जम्मा खसेको ४८ मतमा २ मत बदर हुँदा मोक्तानले ४१ मतले कार्कीलाई पराजित गरे । मोक्तानले ४३ मत पाएका थिए भने कार्कीले तीन मत ल्याएका थिए ।

तीन सदस्य र एक सहकोषाध्यक्ष पछि मनोनित गरिने निर्वतमान अध्यक्ष रामशरण कार्कीले जानकारी दिए । उनका अनुसार एनटीभीएको निर्वाचन तालिका अनुसार गत भदौ १८ गते नयाँ नेतृत्वको लागि मनोनयन दर्ताको समय तोकिएको थियो ।

उक्त दिन सचिव बाहेक सबै पदका लागि १/१ जनााको मात्रै मनोनयन दर्ता भएको थियो । सचिव पदका लागि आईतबार निर्वाचन भएको उनले जनाए ।

पर्यटक यातायात संघमा हाल ७५ कम्पनीका करिव ५२ सय बस सञ्चालन भइरहेको छ । पर्यटक बसमा मात्रै करिव ४० अर्ब बढिको लगानी रहेको अध्यक्ष कार्कीले बताए ।

हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विभिन्न एजेन्सी र पर्यटकको माग अनुसार नगरकोट, पोखरा, चितवन, लुम्विनीका साथमा विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटकलाई पुर्‍याउने गर्दै आएको छ ।

२०६० सालमा दर्ता भएको पर्यटक यातायात व्यवसायी संघमा २०६८ सालमा मात्रै पर्यटक यातायात सेवा व्यवसाय दर्ता तथा सञ्चालन कार्यविधि ल्याईएको थियो ।

उत्कृष्ठ काम गरेको भन्दै चालक र सहचालक पुरस्कृत

यही अवसरमा संघले उत्कृष्ठ काम गर्ने चालक, सहचाकल तथा कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

विगत दुई दशकदेखि एउटै कम्पनीका कार्यरत पर्यटक यातायात चालक कर्णबहादुर कार्की, सहचालक रमेश बस्नेत, र पर्यटक यातायात सचिवालयमा प्रशासनका कर्मचारी समुन तामाङलाई पुरस्कृत गरियो । उत्कृष्ठ व्यवसायी भने उवाड महालक्ष्मी भेइकलका प्रबन्धक भरत तिमल्सिना भए ।

संघले पछिल्लो समय पर्यटन क्षेत्रका विभिन्न संघ/संस्थाका नवनिर्वाचित समितिलाई समेत सम्मान गरेको थियो । जसमा केही समय अघि गुरुङ पर्यटन व्यवसायी संघ, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ् नेपाल (टान) को नयाँ कार्यसमितिलाई सम्मान गरिएको थियो ।

त्यसैगरी एनटिभिएको गण्डकी प्रदेशको नयाँ कार्यसमितिलाई पनि सम्मान गरियो । केही समयअघि मात्रै गण्डकी प्रदेश एनटिभिएको नयाँ समिति गठन भएको थियो ।
सम्मानित हुने सबैलाई मन्त्री भटराईले सम्मानपत्र प्रदान गरेका थिए ।