अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेका हास्यकलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले लामो समयदेखि निर्माण गर्ने भनेको फिल्मको औपचारिक घोषणा गरिएको छ ।  ‘सेन्टी भाइरस’ नाम जुराइएको फिल्मको घोषणा गरियो ।
‘सेन्टी भाइरस’ को कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । भाद्र ३ गतेबाट छायांकन हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।
फिल्ममा ‘धुर्मुस-सुन्तली’ स्वयंको प्रमुख भूमिका रहनेछ । सामाजिक व्यंग्यमा निर्माण हुने फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । रुपाकोट र पोखरामा छायांकन हुने फिल्मलाई निर्देशक गुरुङका विश्वासिला छायाँकार शैलेन्द्र डि. कार्कीले खिच्नेछन् ।
कलाकार धुर्मुसले सामाजिक कार्यमा व्यस्त रहँदा कलाकारितामा समय दिन नपाएको बताउँदै अब फिल्म अभिनयबाट पुनः कलाकारितामा फर्किएको बताए । ‘सेन्टी भाइरस’ को निर्माण लागत अनुमानित २ करोड रहेको उनको भनाई छ । उनले फिल्मको मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने पनि जानकारी दिए ।
राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहने यो फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गर्नेछन् भने सह-निर्मातामा फूर्पा लामा रहेका छन् । निर्देशक रामबाबुले फिल्मलाई उत्कृष्ट बनाउने प्रयत्न आफ्नो रहने बताए ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.