रुपन्देहीमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा आयोजक रुपन्देही ११ लाई २–० ले पराजित गर्दै दाफिन्स एफसी क्यामरुन २१ औं तिलोत्तोमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

खेलको २ मिनेटमा नै दाफिन्स एफसी क्यामरुनले पेनाल्टी पाएपछि दाफिन्सका खेलाडी डेडर टिनाले पेनाल्टी मार्फत पहिलो गोल गर्न सफल भएका थिए । दोस्रो हाफको ३९ औं मिनेटमा दाफिन्सका खेलाडी डेडर टिनाले दोस्रो गोल गरेका थिए । गोल संगै दाफिन्स तिलोत्तोमा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

उत्कृष्ट खेल प्रदर्शन गरेका रुपन्देही ११ का खेलाडी मनोज श्रेष्ठ आजको खेलको म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । शनिबार भ्याली च्यासल युथ क्लब र पूर्व तिलोत्तमा गोल्डकप बिजेता नेपाल प्रहरी बिच सेमिफाइनलको दोस्रो खेल हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ८ लाख ८० हजार, द्वितिय हुनेले ५ लाख ५० हजार पुरस्कार र शिल्ड पाउने जिल्ला फुटवल संघले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीले एक थान स्कुटर, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले २५९२५ हजार रुपैया र शिल्ड पाउने छन ।