ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ् नेपाल (टान) को ४१ औँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ ।

टानका निवर्तमान अध्यक्ष नवराज दाहालले बिहीबार नवनिर्वाचित अध्यक्ष खुम सुवेदीलाई टानको चाबी दिएर पदभार हस्तान्तरण गरेका हुन् ।

गत भदौ २० गते भएको साधारण सभाबाट आगामी २ वर्षका लागि सुवेदी नेतृत्वको नयाँ समिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिको निर्वाचन भएको १३ दिनपछि पदभार हस्तान्तरण गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिले शपथ खाएर पदभार ग्रहण गरेका छन् । टानका प्रमुख निर्वाचन अधिकृत रमेशकुमार मैनालीले १७ जनाको निर्वाचित नयाँ कार्यसमितिलाई शपथ खुवाएका थिए ।

पदभार बुझ्दै अध्यक्ष सुवेदीले सम्पूर्ण पर्यटन व्यवसायीको पक्षमा निरन्तर रूपमा काम गर्ने बताए । उनले आफ्नो दुई वर्षे कार्यकालमा उल्लेखनीय काम गरेर देखाउने समेत बताए ।

टानमा सबैभन्दा धेरै टिम्स बेचेर उत्कृष्ट दशमा पर्ने ट्रेकिङ एजेन्सीलाई सम्मान समेत गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे तथा पर्यटन व्यवसायीहरूको उपस्थिति थियो