प्रेममा विछोड भएपछि मानिसहरू अनेक गर्छन् । प्रायः विदेशतिरै हुने यस्ता घटना नेपालमा पनि हुन थालेका छन् । ‘अन्तिम पल्ट भेट्न आऊ’ भन्दै एक प्रेमिकाले प्रेमीको लिंग छेदन गरिदिएकी छन् ।

काठमाडौंको कपनमा डेरा गरी बस्ने युवतीले आफूलाई धोका दिएको झोंकमा प्रेमीलाई अन्तिम पल्ट भेट्न भन्दै कोठामा बोलाएको र चक्कुले लिंग छेदन गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

१९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौंडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजीव सुनुवारको लिंग छेदन गरेकी हुन् । सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेशबहादुर सिहंका अनुसार उनीहरू दुवै जना हायात होटलमा काम गर्ने गरेका छन् ।

धर्म फरक भए पनि काम एकै ठाउँमा गर्ने भएकाले दुवै जना प्रेम सम्बन्धमा बाँधिएका थिए । सुनुवारको परिवारले फरक धर्मकी केटी घरमा नभित्र्याउने बताएपछि सुनुवारले बिहेका लागि अस्वीकार गरेका थिए ।

धर्मकै कारण छुट्टिने प्रस्ताव राखेका सुनुवारलाई अन्तिम पल्ट भेट्ने इच्छा भएको भन्दै युवतीले आफ्नो कोठामा बोलाएकी थिइन् । आफूलाई धोका दिएको भन्दै सोमबार चक्कुले सुनुवारको लिंग छेदन गरेको प्रहरीले जनाएको छ। प्रहरीले ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।